गजल : निर्दोष शिव (जिन्दगीको परिभाषा पिँजडामा आउँछ)

बुझ्नुस् जब मेरो परिचय सुगामा आउँछ
जिन्दगीको परिभाषा पिँजडामा आउँछ


फुलेको फूल चुँटी कसले लगिदियो ?
प्रश्न सोध्दै माली गमलामा आउँछ


दुश्मन बरु प्राय आफ्नै वरिपरि होला
मित्र हुँ म भन्ने केवल मौकामा आउँछ


खाडिको तातो घाममा बेल्चा हान्दै गर्दा
गाउँघरको तस्बिर घुम्दै आँखामा आउँछ


प्रेमिका गुमाएर एक्लै बसेको प्रेमिलाई
प्रेमिकाको अनुहार चन्द्रमामा आउँछ

निर्दोष शिव

बाग्लुङ हाल कोरिया

प्रतिकृया दिनुहोस