कविता : "मसानघाटदेखि चिठ्ठि"





म काे हूँ
मरिसकेकाे मान्छे ?
त्यसाे हाे भने
तस्बिरमा फूलमाला किन रङ्गाइएकाे छैन
मृत्युदर्तामा किन दर्ता गरिएको छैन
जबकि अामाले छाेरा भनेर भन्न पाउँदैनिन्
म बाँचेको भन्ने प्रमाण के छ ?



म मसानघाट पुगेँ
कसैलाई त जलाए अपरिचित मलामिहरू
म जस्तै कैयौं मरेर मसानघाट पुगेका
र नजलाइएका
जलाइएका भन्दा झन् जलेर खरानी भइसके
कति जलाइए कति बाँकी छन् अाँकडा छैन मसँग
यदि छ भने भनिदेऊ ए ! मेरी अामा ?



मरेपछि स्वर्ग नर्क भन्ने साँचाे कुरा हाे महासय
महासय तपाईं पनि मरिसक्नु भयाे ?
म सुन्दैछु स्वर्गमा हुनुहुन्छ अरे
म नर्कमा पुगेँ
सायद,गरिब जति नर्कमा जान्छन् मेराे विचारमा
र स्वर्ग जाने भनेका
मसानघाट पुराउने तपाईं जस्ता मलामीहरू हुन् ,




अहाे !
भुसुक्कै बिर्सिएछु
मरेपछि पनि म तिताे सत्यकाे छिनोफानो गर्दैछु
बिन्ती ! याे मेराे अन्तिम गल्ती स्विकार्नुहाेस्



म पागल हूँ
मलाई केही गर्नु पर्दैन
म स्वर्ग फर्कन कदापि सक्दैन
र सक्दैन स्वर्गमा न्याय खाेज्न
म केही नि गर्न सक्दैन
महरूलाई थाहा छ
म स्वर्गकाे भविष्य साेच्न सक्दैन
शान्तिकाे स्वर्ग, बुद्धकाे स्वर्ग रच्न सक्दैन
पुर्खाकाे पसिनाकाे मूल्य ताेक्न सक्दैन
र सक्दैन म
गर्वसाथ नेपालि हूँ भन्न पनि ।

 

गौरव नविन 

अर्घाखाँची मैदान 

हाल - बुटवल 

प्रतिकृया दिनुहोस