स्याङ्जाको भीरकोटमा पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम

 


स्याङ्जाको भीरकोट नगरपालिका २ केघामा रहेको लालीगुराँस युवाक्लबद्धारा आयोजित पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम आईतबार सम्पन्न भएको छ । “भेषभुषा र संस्कृतिको संरक्षण गरौँ” भन्ने नाराका साथ र क्लबको आफ्नो १२औँ वार्षिकोत्सव तथा तमू ल्होसार अवसमा आयोजित प्रतियोगिता आज सम्पन्न भएको छ । प्रतियोगितामा स्वर्णिम युवाक्लब तलाथोक प्रथम, आयोजक लालीगुराँस क्लब द्धितिय, पुर्णिमा युवाक्लब रानीस्वाँरा तृतिय र आयोजककै समुह सान्त्वना भएका छन् ।

 

प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वनाले क्रमशः ३५ हजार, २५ हजार, १५ हजार, ७ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा १९ समुहको सहभागिता रहेको थियो । विजेता तथा उपविजेता क्लबलाई पुरस्कार वितरण गर्दै भिरकोट नगरप्रमुख छायाराम खनालले युवाहरुलाई खेलकुदकै माध्यमबाट विकास गर्नुपर्ने भन्दै युवाको विकासले नै नगर समृद्ध हुने बताउनुभयो । साथै प्रमुख खनालले गुरुङ समुदाय रहेको केघामा यही २६ गते होमिस्टेको उद्दघाटन गर्ने भन्दै होमिस्टे समेत पर्यटन आगमनको मुख्य माध्यम रहेको बताउनुभयो ।

 

कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष कमल त्रिपाठी, ३ का अध्यक्ष बाबुराम श्रेष्ठ, नगरकार्यपालिका सदस्य बिन्दु खड्काकेसी, तमू ह्यूँल छोँजीधी गुरुङ राष्ट्रिय परिषदका जिल्ला अध्यक्ष रवि गुरुङ, केघा टोलविकास संस्थाका अध्यक्ष खुमबहादुर गुरुङलगायतले बोल्नुभएको थियो । कार्यक्रममा गुरुङ समुदायको भाषा संस्कृति झल्कने प्रस्तुति प्रस्तुत गरिएको थियो । कार्यक्रम संयोजक तिलबहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत क्लबका सदस्य बोलमाया गुरुङ र सञ्चालन वडा सदस्य देवबहादुर गुरुङले गर्नुभएको थियोे ।

प्रतिकृया दिनुहोस