‘गुन्द्रुक मिठो साग’बाट चर्चा कमाएका स्याङजा गल्याङका गायक

काठमाडौं - ‘गुन्द्रुक मिठो साग’ बोलको गीतबाट एकाएक चर्चामा आएका युवा गायक बिक्रम परियारले भरखरै काठमाडौंमा आफ्नो उपस्थिति देखाउन थालेका छन् । काठमाडौंमा गीत संगीतमा संघर्ष गरिरहेका गायक परियारले ‘गुन्द्रुक मिठो साग’ बोलको गीत हिट भएपछि काम पाउन थालेका छन् । भन्छन्, ‘यो गीतले मलाई राम्रो अवसर दियो ।’

उमेरले २५ वर्ष पुगेका गायक परियार अविवावहित छन् । स्याङजा जिल्लाको गल्याङ नगरपालिकाको देवीस्थानमा जन्मिएका गायक परियारलाई सबैभन्दा धेरै साथ बुबाआमाको छ । स्कुल अध्ययन गर्दादेखि नै गायनमा लागेका परियारलाई कलेज पढ्दा साथीहरूले अझै ठूलो हौसला दिएका थिए । साथीहरूकै हौसलाले अहिले उनी राम्रो गायक बनेका छन् । गायक परियारले त्रिभुव विश्व विद्यालय कीर्तिपुरमा अँग्रेजी विषयमा मास्टर गर्दै छन् ।

परियार गायनमा लागेको तीन वर्ष भयो । यो तीन वर्षका दौरानमा उनले धेरै हण्डर खाएका छन् । हण्डरबाट पाठ सिकेका गायक परियारले अब समयले साथ दिन थालेको बुझेका छन् । लोक तथा दोहोरी गीतमा उनको स्वर मिठो सुनिने गरेको छ । भन्छन्, ‘लोक तथा दोहोरी गीतमा मेरो स्वार उपयुक्त भएको लाग्छ ।’

स्याङजा जिल्ला कलाकारहरू उब्जिनी हुने जिल्लामा पर्छ । त्यही जिल्लामा जन्मिएर नाम कमाउँदै गरेका गायक परियारले अहिले नै विवाह गर्ने सोँच बनाएका छैनन् । भन्छन्, ‘भरखर गायनमा लागेको छु । अहिले विवाह गर्ने बेला भएको छैन ।’ उनको जिल्ला स्याङजा लोकसंस्कृतिको थलो मानिन्छ ।

गायक परियारको माग स्टेज कार्यक्रमहरूमा हुने गरेको छ । उनले स्टेज कार्यक्रमहरूमा दर्शकलाई राम्रोसँग मनोरञ्जन दिने गरेका छन् । ‘गुन्द्रुक मिठो साग’को गीतले उनलाई धेरै पुरस्कारहरू पनि दिलाएको छ । यो गीत उनको अन्य गीतहरूभन्दा धेरै चलेको गीतमा पर्छ । केशव पौडेलको शब्द र शिव हमालको संगीत रहेको यो गीतले राम्रो छाप छोडेको छ । उनले थुप्रै गीतहरू गाएका छन् । उनले गाएको पहिलो गीत ‘स्वर्ग जस्तो जीवन’ हो । यो गीत धेरै नचलेपनि राम्रो प्रतिक्रिया पाएका थिए ।

आफैले लगानी गरेर गीत निकाल्ने गरेका गायक परियारले धेरै गीतहरूमा स्वर दिएका छन् । उनी आफैले नयाँ गीत ल्याउँदै छन् । ‘सरर बतासै चल्यो’ पनि रिलिज भैसकेको छ । यो गीत पनि राम्रो छ ।

राजु परियार, कुलेन्द्र विश्वकर्मा जस्ता गायकको स्वर र गायन उनलाई मन पर्छ । देवी घर्ती मगर, पूर्णकला बिसी, शान्तिश्री परियार, सम्झना भण्डारीलगायतका गायिकाहरुसँग गीत गाएको उनको अनुभव छ ।

भगवान भण्डारी, पुरुषोत्तम न्यौपाने, शर्मिला गुरुङ, एकनाराण भण्डारी, विष्णु माझी, शिव हमाल, रामजी खाँण, पशुपति शर्मा, राजु गुरुङ लगायतका कलाकार उनै गायक परियारको जिल्ला स्याङजाका हुन् । उनीहरूले जस्तै नाम कमाउने परियारको इच्छा छ ।

‘चौतारीको बर’ आउँदै गरेको उनको गीत हो । यो गीतका संगीतकार बसन्त थापा हुन् । शब्द नकुल ढकालको रहेको छ ।

 

प्रतिकृया दिनुहोस