गल्याङ नगरपालिकाद्धारा ‘नगरकी छोरी’ कार्यक्रम सुरु
गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकाले नगरकी छोरी कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले महिला शसक्तिकरणका लागि छुट्याइएको बजेटबाट नगरकी छोरी कार्यक्रम सुरु गरेको हो ।
कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षको साउन यता जन्मिएका छोरीहरुका लागि नगरपालिकाले रु. पाँच हजार सहित खाता खोलिदिन सुरु भएको छ । नगरपालिकाले खाता खोलेर छोरीका नाममा राखिदिएको पाँच हजार रुपैंया छोरी १८ वर्षकी भएपछि मात्रै झिक्न मिल्ने व्यवस्था गरिएको छ ।
गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपाने तिमिल्सिनाको उपस्थितिमा वडा नम्बर तीनमा मिना दर्जीकी आठ दिनकी छोरीको नाममा गरिमा विकास बैंकमा खाता खोलेर कार्यक्रमको उद्घाटन गरिएको छ ।
सो अवसरमा नगरपालिका उपप्रमुख हेमा न्यौपानेले छोरी जन्माउनेहरुको प्रोत्साहनका लागि कार्यक्रम ल्याइएको स्पष्ट पार्नुभयो ।
उहाँले संविधानले महिला अधिकारका क्षेत्रमा धेरै काम गरेपनि व्यवहारिक रुपमा छोरीलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन ल्याउन यो कार्यक्रम ल्याइएको बताउनुभयो ।
उपप्रमुख न्यौपानेले महिलाहरुका लागि नगरपालिकाले धेरै कार्यक्रमहरु ल्याइरहेको बताउनुभयो । उहाँले गर्भावस्थामा अण्डा वितरण, सुत्केरी भेटघाट सहित कार्यक्रम ल्याइएको जानकारी दिनुभयो ।
सो अवसरमा गल्याङ नगरपालिका स्वास्थ्य शाखाकी पब्लिक नर्सीङकी विसर्जना थापा र सविता खरालको पनि उपस्थिति रहेको थियो ।
दर्जीकी छोरीको न्वारन भैसकेपछि नाम सहितका कागजी प्रक्रिया पुरा भएपछि खाता सञ्चालन हुने गरिमा बैंककी कर्मचारी कोपिला भट्टराईले जानकारी दिनुभयो ।
केही दिन अघि बसेको कार्यापालिका बैठकले महिला शसक्तिकरणको कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा जन्मेका छोरीहरुका लागि बैंक खाता खोलेर पाँच हजार रुपैयाँ दिने निर्णय गरेको थियो ।
गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले यस कार्यक्रमबाट व्यवहारिक रुपमा नै महिला पुरुषको विभेदको अन्त्य गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । गल्याङ एफएमसँगको कुराकानीमा उहाँले छोरी जन्माउनेहरुलाई प्रोत्साहन गर्नका लागि कार्यक्रम ल्याइएको स्पष्ट पार्नुभयो ।







प्रतिकृया दिनुहोस