हुलाक आधारभूत विद्यालयमा छात्रबृति तथा पुरस्कार वितरण
गल्याङ–गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले सकारात्मक सोचका साथ विकास निर्माणमा लाग्न आह्वान गर्नुभएको छ ।
उहाँले विकासका कुरा भनेर मात्र नहुने भन्दै सबैले सकारात्मक सोचका साथ योगदान गर्नुपर्ने बताउनुभयो ।
स्याङ्जाको गल्याङ नगरपालिका ११ हुलाकमा रहेको श्री हुलाक आधारभूत विद्यालयले ५९ औं बालि अधिकार दिवशका अवसरमा गरेको छात्रबृत्ति तथा पुरस्कार वितरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
नगरप्रमुख भट्टराईले सबैले आआफ्नो ठाउँबाट परिवर्तनका लागि योगदान गर्नुपर्ने बताउनुभयो ।
नगरप्रमुख भट्टराईले सकारात्मक योगदान गर्न सकेकै कारण हुलाक आधारभूत विद्यालयले प्रगति गर्न सकेको बताउनुभयो ।
नगरप्रमुख भट्टराईले नेताहरुबाट भाषणमा धेरै कुरा गर्ने भन्दै कुरा भएपनि काम हुन नसकेको बताउनुभयो । विदेशिने युवाहरुलाई स्वदेशमै रोजगारी दिने भनेर धेरै भनिएपनि त्यही अनुसार काम हुन नसकेको बताउनुभयो ।
काम र व्यवहारको तालमेल सबै पक्षबाट बराबर हुन सकेमा मात्र परिवर्तन सम्भव हुने भन्दै उहाँले त्यसका लागि सकारात्मक योगदान गर्नुपर्ने बताउनुभयो ।
स्वास्थ्य विमा कार्यक्रमबाट तीन हजार पाँच सय मा एक लाख रुपैयाँ सम्मको उपचार पाइने भएपनि त्यसबारेमा सबैलाई बुझाउन नसक्दा अझै पनि समस्या भएको उहाँले बताउनुभयो ।
नगरप्रमुख भट्टराईले गल्याङबाट आलमदेबी जाने बाटो, गल्याङ बज्रे हुँदै तिन्दोवाटे जाने लगायतका सडक निर्माणको काम यस वर्ष पनि निरन्तर हुने बताउनुभयो । गल्याङको खानेपानीको समस्यालाई लिएर आफुले पटकपटक संघीय सरकार सँग समन्वय गरिरहेको भन्दै उहाँले अब छिटै नै खानेपानीको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपानेले महिला शिक्षकहरुबाट मात्रै अध्यापन हुने हुलाक आधारभूत विद्यालय नमूना विद्यालयको रुपमा विकास भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।
उहाँले नगरपालिकाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
गल्याङ नगरपालिका वडा नम्बर ११ का अध्यक्ष दलबहादुर सिंजालीले ५÷६ जना मात्रै विद्यार्थी भई मर्ज हुन लागेको हुलाक आधारभूत विद्यालयमा अहिले झण्डै सय जना विद्यार्थी हुनु गौरबको कुरा भएको बताउनुभयो ।
गल्याङ नगरपालिका शिक्षा शाखा प्रमुख केदारराज आचार्यले शिक्षाको क्षेत्रमा गल्याङ नगरपालिकाले विभिन्न उपलब्धी हासिल गरेको भन्दै हुलाक आधारभूत विद्यालय पनि पुरस्कृत भएकोमा खुशी व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कविर गाहाले गल्याङ आसपासका निजी विद्यालय भन्दा हुलाक आधारभूत विद्यालय सबै क्षेत्रमा अब्बल रहेको बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर ११ का वडा सदस्य मोहन डुम्रेले विद्यालयमा अध्ययनरत दुई जना विद्यार्थीलाई झोला प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भेमला बरालले विद्यालयको बारेमा जानकारी गराउनुभएको थियो । शिक्षक रिता भट्टराईले सञ्चालन गर्नुभएको कार्यक्रममा शिक्षक विष्णुमाया चापागाईले स्वागत मन्तव्य राख्नुभएको थियो ।








प्रतिकृया दिनुहोस