रामपुरका युवा दुईवर्ष देखि मलेसियाको जेलमा
पाल्पा - सानो टिनले छापेको झुप्रो, त्यही झुप्रोमा दुई छोरा दुई छोरी, एक सासु आमा सहित रामपुर नगरपालिका ५ बाङ्गेपसल बस्ने जमुना नेपालीले मजदुरी गरेर जीवन गुजारा चलाउदै आउनुभएको छ । त्यही सानो झुप्रो पनि सुकुम्बासी छ ।
छ जनाको परिवारको लालनपालन, खुशी बनाउन, छोराछोरीलाई उचित शिक्षा दिन जमुनाका श्रीमान् मनबहादुर नेपाली तीन वर्ष अघि मात्रै वैदेशिक रोजगारीका निम्ति मलेसिया पुग्नुभयो ।
परिवारको मिठो सपना बोकेर विदेश जानुभएका नेपाली दुई वर्ष देखि जेल जीवन बिताउँदै हुनुहुन्छ । घरपरिवार, छोराछोरीको भविष्य बोकेर मलेसिया पुगेका नेपाली गएको वर्ष दिनमा नै उहाँ जेल जीवन बिताउन बाध्य हुनुभयो ।
नेपाली विदेश गएपछि परिवारमा एक किसिमको खुशीयाली छायो । एकवर्षभित्रै उहाँले विदेश जादा लागेको ऋण चुक्ता गरिसक्नुभएको थियो । ऋण सकिएपछि घरखर्च, परिवारको खुशीका निम्ति कमाएर केही वर्षमा नै स्वदेश फर्कने योजना बताउदै गर्दा जेल जीवन बिताउन बाध्य हुनुभयो ।
श्रीमान् विदेशको जेलमा छन्, परिवारमा आयस्रोत नहुदा दैनिक गुजारा चलाउन जमुनालाई निकै समस्या छ । मजदुरी गरेर दैनिक पाँच सय बुझेको ज्यालाबाट घरखर्च, छोराछोरीको पढाई खर्च चलाउनुपर्ने बाध्यता छ ।
“छोराछोरी सानै छन्, कमाउन जानुभएका श्रीमान् जेलमा पर्नुभयो, मजदुरी नगरे सम्म साँझ बिहान चुल्होमा आगो बल्दैन” उहाँले भन्नुभयो । श्रीमान्लाई जेलबाट निकाल्न कहीँ कतैबाट पहल नहुदा कति समय सम्म जेल जीवन बिताउनुपर्ने हो पत्तो नभएको उहाँ गुनासो गर्नुहुन्छ ।
“श्रीमान्ले कसरी के कारणले भनेर सोध्दा केही बताउनुहुदैन, जेलमा बसेको एक वर्षपछि मात्र परिवारमा खबर भयो, न रातमा निद्रा न दिनमा भोक जस्तै भएको छ” उहाँले दुखेसो पोख्नुभयो ।
परिवारमा शिक्षित व्यक्ति नहुनु, आयस्रोत अत्यन्तै न्युन रहदा उहाँको परिवारमा चिन्ता छाएको छ ।
छोरो जेलमा छ भनेको सुनेपछि ६० वर्षीय आमा पवित्रा नेपालीको आँखामा आँशु रोकिएका छैन । घरमा पुग्ने जोकोही, छिमेकी, आफन्त देख्ने बित्तिकै छोरालाई नेपाल झिकाउने व्यवस्था गर्न आग्रह गर्नुहुन्छ ।
“उमेर ढल्कदै गएको छ, छोराको पिरै पिरले बिरामी पर्न थालेको छु, धन कमाउन छोरो विदेश गयो भन्दा मनमा खुशी छाएको थियो, अहिले धन कमाउन त परै जाओस् अर्काको देशमा जेलमा छ भनेको सुन्दा मनमा पिरको भारीले थिचिरहेको छ” उहाँले बिलौना गर्नुभयो ।
छोराछोरी घरको आँगनमा कोही नयाँ व्यक्ति पुग्नै हुदैन, बाबा आउनुभयो भन्दै बाहिर निस्कन्छन् । मनबहादुर नेपाली त एक उहारणिय पात्र मात्र हो । उहाँ जस्तै धेरै नेपालीले यो समस्या भोगिरहेका छन् ।
वेरोजगारी समस्याले धन कमाउन खाडी मुलुकमा ऋण खोजेर जाने युवाले सोही रकम गाउँमै लगानी गरेर कमाउन सकिन्छ ।








प्रतिकृया दिनुहोस