अष्ट्रेलियामा कार दुर्घटनामा परी स्याङ्जाका दुई विद्यार्थीको मृत्यु
अस्ट्रेलिया - अस्ट्रेलियाको राजधानी क्यानबेरा नजिक आइतबार भएको सडक दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ । स्याङ्जा दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ । सडक दुर्घटनामा परी स्याङ्जा वालिङकी समिक्षा सुवेदी र गल्याङ नगरपालिका ६ का गोपाल भण्डारीको दुःखद निधन भएको हो ।
अस्ट्रेलियाको परिचित पर्यटकीय क्षेत्र स्नोई माउण्टेनमा हिउँ खेल्न जाने क्रममा उनीहरुले चलाएको कार मोनारो हाइवेमा दुर्घटनामा परेको थियो।
क्यानबेरास्थित नेपाली दूतावासका अनुसार सिड्नीबाट शनिबार साँझ उक्त स्थानमा जान हिँडेका १५ जना साथीहरुमध्ये ५ जना दुर्घटनामा परेका थिए। अन्य १० जना क्यानबेरामै बसेका भए पनि खाना खाएर ५ जनाको समूह भने एउटै गाडीमा स्नोई माउण्टेनका लागि राति नै हिँडेको थियो।
दुर्घटनामा नेपाली विद्यार्थीद्वय समिक्षा सुवेदी र गोपाल भण्डारीको मृत्यु भएको अस्पतालमा उपचार गराइरहेका घाइते विद्यार्थीहरुलाई उद्धृत गर्दै दूतावासले जनाएको छ।
उक्त घटनामा घाइते भएका अश्विन कँडेलका अनुसार क्यानबेराबाट करिब २ घण्टाको बाटोमा रहेको उक्त स्थानमा चाँडै पुग्ने उद्देश्यका साथ उनीहरु राति नै हिँडेका थिए। कँडेलले दुर्घटनाको समयमा आफू निदाएकोले तत्कालै केही थाहा नपाए पनि दुर्घटनापछि सहयोगका लागि आपतकालीन सेवालाई सम्पर्क गरेको बताए। ‘फोनको ब्याट्री पनि नभएकोले घाइते अन्य साथीहरुसँग मुख्य रोडमा चलिरहेको गाडी रोकेर सहयोग मागेर प्रहरीलाई जानकारी गराउन सफल भयौं,’ । बिदाको समयमा साथीहरु मिलेर हिउँ खेल्न शुक्रबार साँझ सिड्नीबाट स्नोई माउण्टेनका लागि उनीहरु ३ वटा गाडीमा हिँडेका थिए।
बिहान करिब ४ बजे भएको दुर्घटनामा सख्त घाइते दुईजनालाई हेलिकप्टरमार्फत उपचारका लागि क्याबेरा ल्याइएको थियो। उनीहरुको अवस्था खतरामुक्त रहेको बताइएको छ भने अर्का सामान्य घाइतेलाई घटनास्थल नजिकको कुमा अस्पतालमा उपचार गराइएको छ।
क्यानबेराबाट ९० किलोमिटर टाढा भएको दुर्घटनापछि क्यानबेरा अस्पताल ल्याइएका घाइतेहरुको अवस्था बुझ्न कार्यवाहक राजदूत सापकोटाका साथै एनआरएन एसिटीका प्रतिनिधिहरु समेत अस्पताल पुगेका थिए।
मृतकद्वयका साथै अन्य तीनजना सिड्नीको विश्वविद्यालयमा अध्ययन गरिरहेको बुझिएको छ। मृतक दुवैजना डेढ वर्षअघि अष्ट्रेलिया गएको पारिवारिक स्रोतले जनाएको छ।








प्रतिकृया दिनुहोस