किचकन्या निस्किन्छ रे !
जङ्गलको बाटो बाइकमा एक्लै सवार थिएँ । प्राय यो जङ्गलको बाटोमा दुर्घटना हुने गर्दछ । गत महिना पनि बस पल्टेर २२ / २३ बर्सकी एक युवतिको ज्यान गएको थियो । घर नपुगी नहुने काम छ । अफिसको काम सकेर फर्किदा रात झमक्कै भैसकेको थियो, साथमा कोहि छैनन् । मेडियाको काम कहिले कहाँ जानु पर्ने हो, केहि थाहा हुदैन ।
यो बाटोमा घट्ने भुतिया किस्सा निकै सुन्न पाइन्छ । किचकन्या निस्किन्छ रे, बाटोको दिशा नै बदली दिन्छ रे, बाइकको पछाडि बस्न आउँछ रे, बाँस ढालेर बाटो छेक्छ रे, त्यहाको भुतको सामनामा पर्नेहरु फर्केर आउदैनन रे, फर्के पनि बहुलाउछन् रे । मलाई यो सब को त्यति बिस्वास लाग्दैन । मरेको मान्छेको आत्माले पनि कसरी दुख दिन सक्छ र ? हिम्मत गरेर बाइक कुदाई रहेको थिएँ । जङ्गलमा ज्यादै भए बाघ, भालुको डर हो, अरु के होला ? यस्तै सोच्दै थिएँ । बिस्वाश नलागे पनि अनेक किस्सा मनमा सल्बलाई रहेको थियो । यो बाटोमा गाडी पनि नहिड्ने सुनसान अनि सन्नटा, निस्पट्ट अँध्यारो । कोहि भेटीए पनि हुने । जङ्गलको बिच भाग तिर पुगेको थिएँ । आचानक दायाँबायाँ बत्ती बल्ने निभ्ने गर्छ । मुटुमा चिसो पस्छ । फेरि सोँच्छु " सायाद सिकारी हरु होलान् वा कोहि दाउरा, घाँस गर्ने घाँसी ।"
गति नियन्त्रण गरेर दायाँबायाँ हेर्दै हिड्छु । अगाडी बाटोको छेउ तिर केही बस्तु झर्छ ! ठूलो आवाज गर्छ । मनमा ढ्याङ्रो बज्छ । हिम्मतको लेवल एक्कासि स्वात्तै तल गिर्छ । ब्रेक थिच्छु । हेड लाइटलाई आवाज गरेतिर फर्काएर हेर्छु । रुखको हागा भाचिएर खसेको रहेछ । तर हावाहुरी केही चलेको छैन, यो कसरी भाँचियो ? मुटुको गति म्याराथन दौड सकेको खेलाडी बराबर उफ्रेको आभास गर्छु ।
अरुले सुनाउने किस्सा दिमागको ब्याग्राउन्डमा एक पछि अर्को स्लाइड हुन थाल्छ । मानौ शरीरमा भुइचालो आए जसरी हल्लिन्छ । ह्या ! चरा चरिले होला वा बादरले भाच्यो होला भनेर मुखमा आउला जस्तो गरेको मुटुलाई ढाडस दिन्छु । आज ब्यर्थै हिडेछु पस्चाताप पनि हुन्छ । मोबाइल झिक्छु कोइ सङ्ग कुरा गर्दै जानू पर्ला ! यहि बेला नेटवर्क नि छैन, यो कस्तो ठाउँ ?
एक्सिलेटर बटार्छु । अल्लि अगाडि पुग्दा केही चम्किलो बस्तु बिच बाटोमा देखिन्छ । बाइक स्लो गरेर बिस्तारै अगाडि बढ्छु । त्यो बस्तु झन् चम्किन्छ । अगाडि जाउ वा नजाउ अलमलमा पर्छु । जे - जे होला - होला, त्यो बस्तु छलेर जान बाइकको स्पिड पुनः बढाउछु । बाइक नजिकै पुगे पछि अगाडिको टायर निरै बाट स्वाट्ट बाटो काट्छ । ब्रेक लगाउछु, बाइक रोकिन्छ । हैट ....! कालो बिरालो पो रहेछ । अनि त्यसैको आँखा चम्किरहेको रहेछ । झन्डै ठोक्किएन, ठूलो स्वास फेर्छु । मन अलि ढुक्क हुन्छ ।
तत्काल फेरी बायाँ तिर बाट केही टिनको बाकस गुल्टेको आवाज कानमा आएर ठोक्किन्छ । दायाँ तिर मसिनो स्वरमा कोहि रोए जस्तो आवाज पनि आउँछ । बाटो अझै बाकी थियो । म" बिच जङ्गल मै थिएँ । घर जाने र शहर फर्कने बाटो बराबर छ । अब हिम्मतको ग्राफमा लेबल पुरै शून्य छुने गरि ओरालो झरी सकेको थियो । मुखमा भगवान् मनमा डर र घर भन्दा अरु केही थिएन । कुन साइड बाट कति बेला के आउँछ र च्याप्प समाउँछ जस्तो आभास भैरहेको थियो । अचानक पर अगाडि एउटा लाइट बलेको देखिन्छ । एक स्टेप हिम्मतको ग्राफ फेरी माथी उक्लिन्छ । तर डर घटेको छैन । कोहि बाइकमा शहर तिर हिडेको होला, अनुमान लगाउछु । जे भो, पछाडी भो ! अब त्यो मान्छे लाई नखाएको बाटोमा मलाई नि खान्न यस्तै सोच्छु । त्यो लाइट बिस्तारै मू" भए तिर गति लिदै थियो । म" पनि हेर्दै अगाडि बढें । दायाँबायाँ कुनै - कुनै रुखका हागाहरु अस्वभाविक रुपमा हल्लिरहेको थियो ।
स्याल कराएको, कोइली कराएको अवाज पनि सुनिन्थ्यो । तर अगाडि बलेको लाइटले मुटु हल्लिन नियन्त्रण गरेको थियो । जे सुकै होस् भन्दै अघि बढी रहें । अचानक अगाडि बाट आईरहेको बाईकको बत्ती बाटो बिचमै गायब भयो । यताउता कतै छुट्टिने बाटो पनि थिएन । म" स्पीडमा त्यो लाइट बलेको ठाउँ सम्म पुगेर बाइक रोकें । चारैतिर नजर डुलाएँ, अघि सम्म बलेको लाइटको पत्तो छैन । त्यो के थियो त ? जो केही बेर अघि सम्म यहि बलेको थियो, फेरि एक्कासि कहाँ हरायो ? टाउको फुलेर आयो । जिउ जिरिङ्ग भयो । जङ्गलमा मधुर हावा चलिरहेको थियो । केही न केही को आवाजले पिछा छोडेको छैन । फेरि झिङ्गा भन्के जस्तो घुईघुई आवाज आईरहेको थियो । पुनः टिनको डब्बा गुल्टेको आवाज र बच्चा रोयेको आवाजले पनि पछि छोडेको छैन । हात पाउ लगलग हल्लिन थाल्यो । फेरी अर्को पटक आट, हिम्मत, साहास जिरो लेबलमा झरी सकेको थियो । त्यसको बावजुद पनि त्यो बाटोको यात्रा त तय गर्नु नै थियो । हेल्मेट भन्दा ठुलो टाउको बनाउदै एक्सिलेटर बटारे ।
आगाडी खोल्सा परेको बाटोमा दिउँसै डर लाग्ने बाँस घारी छ । बिस्तारै हिड्दै थिएँ । बाइक कै आगाडी झ्वाम्म घाँस सहितको बासको टांगलो पल्टियो । अहो ! आज नै अन्तिम दिन हैछ, भन्ने महसुस भयो । अब आगाडी बढ्ने कुनै उपाए सुल्झेन दिमागमा । म" बेहोस हुन मात्र बाकी थियो । बाईक रोकौ डर छ । हिडौ बाटोमा बाँस तेर्सिएर बाटो बन्द छ । के गरुँ र कसो गरुको अन्योलमा पर्दै थिए । अचानक बास घारीमा बास हल्लिन थाल्यो । बाटोमा पल्टेको बासको टांगलो एकाएक आफै उठ्न थाल्यो । मलाई रिंगटा लागे जस्तो भयो । त्यो दृश्य हेर्ने साहास जुटाउन सकिन र आँखा बन्द गरे । केही समय पश्चात् आँखा खोल्दा बाटो साफ थियो । अरुले सुनाउने भुतको किस्साको आज पहिलो चोटि आफै प्रत्यक्षदर्शी बन्दै थिए म ।
चिच्याउ, कराउ हारगुहार मागु भने पनि परपर सम्म सुन्ने गाउँ घर कोहि, केही छैन । आज मात्र घर पुग्न पाए फेरि यो बाटो रातिमा त मरे पनि हिड्ने छैन । भगवान लाई पुकारे र बाईकलाई गति दिएँ । तर हात पाउ थरथर कापिरहेको थियो । त्यो बाँस घारी पार गरेर अलि उछ्याइलो ठाउँमा के आएको थिएँ, आचानक बाइक पछाडी कोहि छ जस्तो भान भयो । मुटुमा एक बाल्टी बरफ खन्याए जस्तो फिल भयो । अब डरले होस गुमाउन मात्र बाकी थियो । कति खेर कुन खाल्डोमा खस्छु वा कुन भित्तामा ठोक्किन पुग्छु थाहा छैन । रात झन् झन् छिप्पीदै थियो । बाइक रोकेर पछाडी के छ हेर्ने हिम्मत जुटाउन सकेको थिईन । पछाडी केहि त छ त्यो अन्योलमा अगाडि बढ्न पनि साहास रित्तिएको थियो ।
अब झन् गत महिना बस दुर्घटना भएको स्थान आउनै लागेको थियो । जहाँ सुनेको किस्सामा निस्कने गर्छ, सेतो पहिरनमा कपाल फैल्याएको किचकन्या । बाटोमा यत्रो घटना भए पश्चात् बिस्वास गर्नै पर्ने बातावरण बनेको थियो, ती भुतका सबै किस्साहरु । बिस्तारै बस दुर्घटना भएको ठाउँमा पुग्दा नपुग्दै पिलपिल निलो बत्ती बलेको दृष्य टाढै बाट देखिन्छ । हो ! त्यो तेहि किस्साको किचकन्याले बालेको हुनु पर्छ । यस्तै अनुमान लगाउछु । हैन ! कोहि मान्छे होला, फेरी पोजेटिभ सोच्छु । जंगल पार गर्न अब धेरै छैन । बाइक ५० को स्पिडमा निरन्तर कुदाउछु । मन डराउन छोडेको छैन । बाटो छेउमा बलेको बत्ती नजिक पुग्न लाग्छु , बत्ति हराउछ । फेरी अगाडि अर्को बत्ति बल्छ, नजिक नपुग्दै पुनः गाएब हुन्छ । यस्तो क्रम ३/४ चोटी चल्छ । डरले सिमा काटेर परदेश पुगीसकेको थीयो । टाउको फुलेर कपाल हेल्मेट छेडेर निक्के झै लाग्छ । गती बराबर थियो । हात कापिरहेकै थीयो । तेर्सो र सजिलो बाटो आइपुग्यो । स्पिडले ६० नाध्यो । अगाडी कोहि मान्छे जस्तो देख्छु । हात हल्लाउँदै छ । गति नियन्त्रण गरें तर रोक्ने मन छैन । के थाहा ! कालै पोसाकमा भए पनि भुत हुन सक्छ । उ त झन् बाइक कै अगाडी उभीन आयो । झ्याप्प ब्रेक कुचें । कालो ग्वाम्म लुगा लगाएको मान्छे, क्याप र मास्क पनि लगाएको थियो । दाई ! बाईकमा आएको साथी सँग झगडा परेर साथीले यहि छोडेर गयो । प्लिज दाई पल्लो गाँउ सम्म छोड्दिनु भन्दै हात जोड्यो । धन्य मान्छे नै रहेछ । बल्ल हिम्मत आयो । डर पनि हरायो । ल बस भाई ।
उ बोल्छ ! दाई यो पछाडीको कम्मल फुकेर खस्न लागेछ । मू आश्चर्यमा पर्छु । खै कहाँ कुन कम्मल ? पछाडी हेर्छु, सच्ची त्यहा एउटा कालो कम्मल थियो । तर मैले त एउटा झोला भन्दा कुनै सामान राखेकै छैन । त्यो पनि बोकेको छु । अघी पर बाइक पछाडी केहि भए जस्तो भान भएको थियो । सायद यहि हुनु पर्छ । ल....! भाई यो त मेरो हैन, कहाँ बाट आयो बाइकमा ? ल ल फल्देउ, अनि हतिमि बस । "हवस् दाई ! फाले ल हिड्नु" - त्यो भाई बोल्छ ।
बाईक कुदाएँ । बाटोमा म सँग अघी भएको किस्सा मु सुनाउदै गएँ । तर त्यो भाईले केहि जवाफ दिएन । सोचें सायद डराएर होला । "तर भाई ! अब साथमा तिमी छौ जे सुकै आए पनि डराउदिन ।" म बोल्छु । तर त्यो भाई केहि बोल्दैन ।
यत्ती भनी नसक्दै, अगाडी सेतो पहिरनमा कपाल फिजाएर बिच बाटोमा नारी स्वरुप उभिएको देखिन्छ । झसंग हुन्छु । किचकन्या हुनु पर्छ । भाई हेर त त्यो के हो ? त्यो भाई अझै केहि बोल्दैन । तर साथी छ, एक्लै मरिन्न भनेर म" ढुक्क छु । लड्नै परे नि लडिन्छ । हामी दुईमा कुनै एक मरे पनि घर सम्म खबर पुगिहाल्छ । बाइक रोक्छु । त्यो सेतो स्वरुप लाईटको फक्स पछ्याउदै हामी तिर बढ्दै थियो । तब सम्म पनि म" सबर गर्दै थिएँ । मेरो होस त त्यति बेला उड्यो । जब पछाडी फर्केर हेर्दा बाइकमा बसेको भाई नै थिएन । त्यहा त सेतो लुगा लगाएर कपाल खोलेको किचकन्या स्वरुप थियो । डरले मेरो जिउ लल्याक लुलुक भयो । तर पनि हिम्मत गरेर बाइक पछाडी बसेको व्यक्ति माथी दुई मुक्का लगाई दिएँ । त्यो ढल्यो । अगाडि बाट आउँदै गरेको अर्को पनि म" तिर जोड जोडले बढ्न थाल्यो । एउटा ढले पछी अली आट बढ्यो । आइज कि मर्छु, कि मार्छुू ! मैले चिच्याएँ । अनि उफ्रिएर एक लात्ती टाउकोमा दिएँ । त्यो पनि भुईमा बजारियो । पछाडी बाट अर्को आएर एउटा हात समात्यो । मैले अर्को हातले झापड लगाउन खोज्दै थिएँ । त्यसले गाला छेक्दै भन्यो - "भो भो दाई it's prank मजाक हो क्या दाई ।"
म" उनिहरु माथी खहनिदै थिएँ । छेउ तिर बाट अरु चारपाँच जना आएर समाते अनि सम्झाए । दाई prank हो दाई नरिसाउनु ल । सबलाई गाली गरेँ यस्तो नि मजाक हुन्छ यार ? एक छिन त पारो तातेर आयो । तर सम्हाले आफुलाई, prank गर्ने पुरै मेरै गाउका भाईहरु रहेछन् । यहाँ त यिनीहरूले उ prank गरें तर बाटो भरीको सबै घटना चाहि के थियो ? मलाई उत्सुकता लाग्यो र सोधें । पछाडी बाट एउटा बोलेरो स्पिडमा आयो । टिमका अरु भाई हरु रहेछन् ।
"त्यो सब हामीले गरेको दाईू " एउटा भाई बोल्यो ।
शुरुमा दायाबाया लाइट बालेर तर्सायौँ । अनि रुखको हागा भाचेर फाल्यौ । "अनि त्यो बिभिन्न आवाज नी ?" मैले सोधें ।
" सिम्पल ! म्युजिक सिस्टम" अर्को भाई बोल्यो ।
"तर दाई त्यो बिरालो चाहि संयोग थियो । त्यसको आखा चम्केको देख्दा त हामी पनि डराएका थियौ !" बिचमा अर्को भाई बोल्यो ।
सबै त ठिक छ, तर बास घारीमा त्यो बास आफै कसरी उठ्यो ? मैले सोधे ।
बोली पुरा नहुदै अर्को भाई बोल्छ - "बासलाई नुघाएर डोरिले बाधेका थियौँ, सो हल्लाउन र उठाउन त्यसरी सम्भव भयो । त्यो कालो सिरक पनि बास पल्टाएर हजुर रोकिदा बिस्तारै पछाडी राखेको, थाहा पाउनु हुन्छ कि भन्ने डर थियो, धन्य बाचियो "
"बत्तिको म्याजिक त सामान्य भैहाल्यो ।" अर्को आवाज आयो, सबै हास्छन् ।
"दाई बाईक पछाडी बसेर हजुरको कहानी सुन्दा निक्कै हासो लागेको थियो ।, तर लुगा र कपाल लगाउन ब्यस्त थिएँ , त्यसैले केहि बोलीन ।" लिफ्ट माग्ने वाला भाई बोल्छ ।
पछाडि बाट ४ र ५ वटा वाइक पनि आयो । बाईक सबै झाडीमा लुकाएर, सबै मान्छे छोड्दै बोलेरो चाहि शहर नै पुगेर अल्ली पछि पछि आएको रहेछ । सबै जम्मा भइयो । सबै मरिमरि हास्न थाले । सबै टिम मिलेर दुई चार जना छरिएर बसेर काम गरेका रहेछन् । हेर्न त पहिले पनि हेरेको थिएँ यिनिहरुको prank तर म" नै prank हुन्छु के थाहा ?
Youtube channel छ भाईहरुको राम्रो Subscribers पनि बढेको छ । म" मेडियामा काम गर्ने हुनाले पनि अलि बुझेको छ भनेर सल्लाह गर्न र त्यसैको दर्ताको कामको लागि मलाई गाँउ बोलाएर आएको थिएँ । मेरै सातो लगिदिए । अघी मुक्का खाने भाईहरुलाई सरी भने, झन्डै चोट लागेनछ । "भो सारा रात जंगल मै बिताउने हो ?" जाऔ ! मैले भने । सबै टिम पुरा भए पछि घर तिर लाग्यौ ।
मेरो बाईक अर्को भाईलाई चलाउन भने र म" पछाडी बसें । सबै अगाडि लागे, हाम्रो बाईक पछाडी बिस्तारै हिड्दै थियो । मैले पछाडी फर्केर हेर्दै थिएँ । ब्रेक लाइटको प्रकासमा एउटा नारी स्वरुप पछाडी उभिएको देखें । के थियो त त्यो prank पछि देखीएको दृष्य ? को थियो त त्यो ? के त्यो किचकन्या थियो ? के साच्ची भुत हुन्छ ?








प्रतिकृया दिनुहोस