कथाः बिधुवा

लेखकः सरु भट्टराई
एउटा सानो गाउँ थियो । प्राकृतिक रुपले अति सुन्दर गाउँ । आन्तरिक पर्यटकहरुको मनै लोभ्याउने । सबैले त्यो गाउँलाई पिपलुडाँडा भनेर चिन्थे । पिपलुडाँडाको प्राकृतिक सम्पदा हेर्न आउनेहरुको दैनिक लर्को लाग्थ्यो । घुम्न आउनेहरुले त्यहाँका सम्पदा जति सुन्दर देख्थे त्यती त्यहाँका मानिसहरुको विचार र व्यावहार उनीहरुलाई कुरुप लाग्थ्यो । गाउँका प्राय परिवार गरिब र अशिक्षित थिए । शिक्षा, चेतना र अज्ञानताका कारण जति मात्रमा त्यो गाउँ विकसित हुनुपथ्र्यो हुन सकेको थिएन । चेतनाको स्तर र उनीहरुको जीवनशैलीले सधै उनीहरुलाई गिज्याईरहेको हुन्थ्यो । अन्धविस्वास र रुढीवादी परम्परामा अल्झेकाले त्यहाँका गाउँलेहरुको भौतिक र व्यक्तिगत जीवन उकासिन नसकेको जोकोही अड्कल गर्थे ।

गाउँमा प्राय व्यभिचारी र लोभीहरुको परिवार बस्थ्यो । तर पिपलुडाँडामा उदाहरणीय एक दम्पती पनि बसोबास गथ्र्यो । श्रीमानलाई धर्मागत र श्रीमतीलाई सावीत्री भनेपछि गाउँका प्राय मानिसहरुले उनीहरुलाई चिन्थे । धर्मागत र सावीत्रीले गाउँलाई जसरी हुन्छ कुरुती र कु–संस्कारबाट उम्काउन सल्लाह दिन्थे । उनीहरुले परेको बेला सबैलाई सहयोग समेत गर्थे । धर्मागत श्रीमती भन्दा श्रीमान पाँच दशक जेठा थिए । सावीत्री किशोर अवस्थामै थिईन् । उनीहरुको सन्तान थिएनन् । धर्मागत र साबीत्री बीच उमेरको ठुलो अन्तर र विहे भएको लामो समय सम्म पनि सन्तान नभएकाले जति समाज सुधारक कुरा गरेपनि गाउँलेहरुले उनीहरुको खिल्ली उडाउँथे । 

विहे गरेको तीन बर्षपछि करिब सात बर्षको अन्तरालमा साबीत्रीले दुई छोरी र एक छोरालाई जन्म दिईन् । छोरीहरु निक्कै शुसिल र लगनशिल निस्के । छोरीहरुको व्यावहारले उनीहरुको घरमा आउने सबैजसो मोहित हुन्थे । छोरो पनि प्रतिपी राज कुमार जस्तो तेजस्वी थियो । सन्तानको जन्मपछि दम्पती जतिसुकै गरिब भएपनि पहिले भन्दा खुसीका साथ जीवनयापन गरिरहेका थिए । धर्मागत र साबीत्री सन्तानको उज्वल भविष्य र लालन पालनका लागि रातदिन कडा मेहनत गर्ने गर्दथे । उनीहरुले दुखै गरेर भएपनि सन्तानको लालनपानमा कुनै कमि हुन दिएका थिएनन् ।

एक समय गाउँमा विकराल महामारी बनेर झाडापखला फैलियो । भौगोलिक विकटता र गरिबीको कारण गाउँका कसैले पनि औँषधी खान पाएनन् । प्रत्येक परिवारमा कुनै न कुनै सदस्यको मृत्युभयो । अकास्मात फैलिएको महामारीले गाउँलेहरुको खुसि मात्र लुटेन धर्मागत र साबीत्रीको ओठको हाँसो समेत एकैछिनमा हरण गर्यो । गाउँले र ईष्टमित्रहरुको प्यारो बनेका दुई छोरीलाई उनीहरुले सदाका लागि गुमाए । परिवारमा निक्कै रुवावासी चल्यो । साबीत्री छोरीहरुको मृत्युमा पटकपटक मुर्छित भईन् । वृद्धधर्मागत निक्कै बेर रोईरहे । धेरै समय टोलाईरहे ।

गाउँमा झाडापखलाले ज्यान लिने क्रम रोकिएको थिएन । जस्तो सुकै महामारी आएपनि जीवितत रहेकाहरुले गुजरा चलाउन मेलापात, बनपाखा, घाँस दाउरा गर्नुपर्ने बाध्यता भयो । विहान बेलुकाको छाक टार्न निक्कै मुस्किल भएपछि धर्मागत र साबीत्री घर बाहिर ननिस्की सुखै पाएनन् । एक दिन वृद्धधर्मागत दाउरा काट्न जंगल गएका थिए । अकास्मात उनको रुखबाट लडेर मृत्यु भएको खबर गाउँलेहरुले साबीत्रीलाई सुनाए । छोरीहरुको मृत्युले बनाईदिएको आलो घाउ सुक्न नपाउँदै उनको जीवनमा अर्को बज्रपात पर्यो । साबीत्रीले सुर्यको प्रकासले सेतो बनाएको आकाशलाई भयंकर कालो मात्र देखिनन्, चकमन्न अंधाकार रातमा भुतले तर्साएजस्तो पटकपटक बेहोस भईन् । उनी अवाक भईन् । दाँत बाँधिन् । शरिर ललङलुलुङभयो । उनी चङग्रङ्ग आगनमा बजारिन पुगिन् ।

समय सधै एकतमासको रहेन । कलिलो उमेरमा प्रीय छोरीहरु गुमाएको घाउ निको नभएपनि प्राण थाम्पनका लागि साबीत्रीले आफुलाई समाल्नुपर्नेभयो । प्राण जस्तै प्रिय शिरका स्वामीलाई गुमाएकी साबीत्री ज्युउँदो लास जस्तो भएकी थिईन । तर छ महिने काखे छोरकाको पेटभरिदिनकै लागि विस्तारै काम हातमा लिन थालिन् । वैंसमै विधुवा हुँदा उनलाई धेरैै पीडा भयो । कहिलेकाही आत्महत्या गरुँ कि भनेर कल्पना गर्थिन साबीत्री तर तत्कालै नाबालक छोराका लागि बाँच्ने साहस जुटाउँथिन् ।

धर्मागत जीवित हुँदा सम्म आफू जतिसुकै बुढो भएपनि साबीत्री र सन्तानको खानपानमा विशेष चासो दिने गर्थे । उनको त्यही स्वभाव, अटुट माया र हेरचाकाका कारण साबीत्रीको शरीर निक्कै हृष्टपुष्ट थियो । कम्मर छिनेको, नेघ उठेको, काला चटुल आँखा, कालो मुलायम केश, सर्मिला अधर, फराकिलो ललाट, मध्याम खालको उचाई, रातो गहुँगोरो छाला भएकी साबीत्रीको सुगठित शरीर देख्दा देख्नेहरु जो कोहि पनि मोहित बन्थे ।

मर्ने मरेर गएपनि प्राण थमाउनकै लागि उनी मेलापात, पानीपंधेरो, घाँसदाउरा, बाटोघाटो गर्थिन् । गाउँलेहरुले कुरा काट्थे । दुई छोरीलाई खाई । सानै उमेरमा पोईलाई खाएर विधुवा भई । कस्ती टोकाई रहिछ । उनलाई देख्दा तर्कन्थे गाउँलेहरु । उनी हिड्दा साईत परेन भन्दै गाली गर्दथे गाउँलेहरु । उनले छोएको समेत खाँदैनथे गाउँलेहरु । पुजाआजा, चाडपर्वमा साबीत्रीलाई बोलाउन छोडिसकेका थिए । साहारा विहिन सावित्री माथि गाउँका मानवरुपी दानवहरुको कुदृष्टि समेत पर्न थाल्यो । गाउँका बुज्रुकहरुले अनहाकमा वेश्या, रण्डी जस्ता नचाहिँदा आरोप लगाउँथे । उनलाई हुँदा हुँदा वोक्सी, टोकाही सम्म भन्न भ्याए । कोहीले साबीत्रीलाई सम्झाउँथे, ‘तेरो उमेर गएको छैन, सानै उमेरमा विधवा भएर नबस, दोस्रो विहे गर ।’ विचरा साबीत्री नबोली नबोली रुन्चे अनुहारमा आफ्नो बाटो लाग्थी । 

गाउँलेहरुको चरम यातानाले साबीत्रीको सुगठित शरीर कुरुब हुँदै जान थाल्यो ।  उनी दुब्लाउँदै गईन् । दिनप्रतिदिन समाजका विभिन्न व्यक्तिहरुको तिखो प्राहारले साबीत्रीलाई असाह्य पीडा दियो । उनीलाई विस्तारै विभिन्न रोगहरुबाट ग्रसित समेत हुँदै गईन् ।

साबीत्रीले विभिन्न काल खण्डमा घटेका कहाली लाग्दा क्षणलाई विश्रान्ती दिँदै छोराको मुख हेरेर चित्त बुझाउँथिन् । श्रीमानको मृत्यु पश्चात साबीत्री पुरा सेतो वस्त्रमा थिईन् । श्रीमान संग विछोडिदाको पीडाले उनी घरीघरी भाव विह्वल हुने गर्थिन् । उनको पीडालाई बुझिदिने कोहि भएन । साबीत्री विगत सम्झिन्थीन् । शिरमा रातो सिंङ्दुर, राता चुरा, रातो सारी, रातो टिका र रातै पछ्यौरी । उनले आफुलाई नियाल्ने गर्थिन् । पुरै सेतो वस्त्रमा आफ्नो ख्याउने शरीर देख्दा साबीत्री डरले थरथर काँप्थीन् । घरी डाँको छोडेर रुन्थीन् । घरी दाँत बाँधेर भुईमा डङग्रङ्ग पल्टिन्थीन् । छोरो च्याँच्याँ गरेर बेस्सरी रुन्थ्यो । तर उनीहरुलाई समाल्ने कोही थिएन् ।

साबीत्री रोगी शरीर लिएर विहानबेलुकाको गर्जोटार्न दिनभरी मेलापात गर्थिन् । साँझ परेपछि घर फर्कन्थिन् । छोरालाई खुवाएर सुताउँथीन् । विस्तामा पल्टेपछि साबीत्रीको आँखा वरीपरी दिउँसो गाउँलेहरुले सुनाएको तिखो वचन झल्झली आउँथ्यो । उनी घरी रिसले आगो वन्थीन्, घरी थकान लागे जस्तो सिथिल, घरी एक्लै बरबराउँथीन्, घरी लामो समय टोलाएरै वस्थीन् । श्रीमान, छोरीहरु छँदाको पल समेत सम्झन्थीन् । कतिबेला मुसुक्क मुस्कुराउँथीन्, बतिबेला डाँको छोडेर क्वाँ क्वाँ रुन्थीन् । दिउँसोे चर्को घामले र रातमा श्रीमान र छोरीहरुको यादले भतभती छाती पोलेर पसिना कडाउँथ्यो उनलाई । साबीत्री सहन नसकेर बेस्सरी छट्पटिन्थीन् । गाउँलेहरुले बोलेका छुद्र शब्दहरु कानमा बेस्सरी गुन्जिदा उनी मुर्छा पर्थिन् ।  श्रीमान र छोरीहरु संग विताएकोे साबीत्रीको मानसपटलभरी आउँथ्यो । उनीलाई ती पलहरुले राम्रो संग निदाउन दिँदैनथ्यो । साबीत्री रुँदारुँदा रात वितेर उज्यालो हुन्थ्यो । विहानी पख उनले संकल्प गर्थिन्, ‘छोरोको भविष्यका लागि जस्तो सुकै आँधी आएपनि जीवनलाई गुडाउनै पर्छ ।’ साबीत्री संग गाउँलेहरुले दिएको हजार कष्ट सहेरै भएपनि जीन्दगी अगाडि घचेट्नुको अर्को विकल्प पनि थिएन । साबीत्री अहिले त्यही दिनको प्रतिक्षामा छन्, जुनदिन छोरो ठुलो हुनेछ र आफू विरुद्ध गाउँलेहरुले गरेका सारा अन्यायको वदला लिनेछ । 
‘कथा काल्पनिक भएकाले कसैको जीवन संग मेल खाएमा संयोग मात्र हुनेछ ।’ 
सम्पादनः नारायण विश्वकर्मा 
 

प्रतिकृया दिनुहोस