भानुभक्त माविको ५९ औं वार्षिकउत्सव सम्पन्न
गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका ३, गल्याङबजारमा रहेको श्री भानुभक्त आचार्य माध्यमिक विद्यालयको ५९ औं वार्षिकउत्सव सम्पन्न भएको छ ।
एक विशेष समारोहको आयोजना गरी विद्यालयले आफ्नो ५९ औं वार्षिक उत्सव, अभिभावक दिवश तथा पुरस्कार वितरण कार्यक्रम मनाएको हो ।
कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सांसद महेश भट्टराईले भानुभक्त माध्यमिक विद्यालयको इतिहास छुट्टै किसिमको रहेको बताउनुभयो । उहाले सबै मिलेर विद्यालयको स्तरबृद्धिमा लाग्नुपर्नेमा जोड दिनुभयो । विद्यालयलाई राम्रो बनाउन अभिभावक र शिक्षकसँगै विद्यार्थीको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले आफु नगरपालिका भरीका सबै विद्यालय सुधारको योजनामा रहेको बताउनुभयो । उहाँले भविश्यका कर्णधार विद्यार्थीको भविश्यका लागि विद्यालयमा कसैले पनि राजनीति गर्न नहुने बताउनुभयो ।
गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपाने तिमिल्सीनाले भानुभक्त मावि गल्याङको मुटुमा रहेको भन्दै सबै मिलेर यस विद्यालयलाई नमूना विद्यालयको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
गल्याङ नगरपालिका वडा नम्बर तीनका वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले सबैले आफ्नो आफ्नो जिम्मेवारी पुरा गर्न सकेमा परिवर्तन सम्भव रहेको बताउनुभयो ।
कार्यक्रमको सभापति रहनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञप्रसाद अर्यालले विद्यालयको क्षमता बृद्धिका लागि समितिले काम गरिरहेको बताउनुभयो । उहाँले शिक्षा ऐनमा रहेर काम गरिरहेको भन्दै विद्यालयको विकासका लागि अभिभावकहरु पनि उत्तिकै सचेत रहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक निमप्रसाद पौडेल, गल्याङ भुपु सैनिक बोर्डिङका प्रिन्सीपल राजेन्द्रदेब खनाल, आदर्श आवासीय माविका प्रिन्सीपल केपी लामिछाने, अभिभावक टंक खनाल, पूर्व प्रधानाध्यापक रामकान्त पाठक, गल्याङ बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराई लगायतले बोल्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय कलाकार सिमरन परियार सहित विद्यालयका विद्यार्थीहरुको प्रस्तुतिले सहभागीहरुलाई मनोरञ्जन प्रदान गरिएको थियो । यस्तै उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण पनि गरिएको थियो ।






प्रतिकृया दिनुहोस