गल्याङ नगरपालिकाद्धारा आगामी आर्थिक वर्षका लागि सुझाब संकलन
गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकाले आगामी आर्थिक वर्षका लागि सुझाब संकलनका लागि कार्यक्रम गरेको छ ।
आगामी आर्थिक वर्षका लागि गल्याङ नगरपालिकाले ल्याउने नीति योजना र बजेटका लागि आवश्यक सुझाब लिन कार्यक्रमको आयोजना गरिएको हो ।
गल्याङ नगरपालिका ३ मा रहेको नगरपालिकाको सिटीहलमा सोमबार भएको कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले कार्यक्रममा आएका सुझाब कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, समाजका अगुवा पत्रकार सहित सबै क्षेत्रबाट निकै महत्वपूर्ण सुझाब आएको बताउनुभयो ।
उहाँले आएका सुझाबलाई सकेसम्म धेरै समेटेर परिस्किृत निती योजना र बजेट ल्याउने पनि बताउनुभयो ।
नगरप्रमुख भट्टराईले नगरपालिकाको सीमित स्रोत र साधन भएका कारण चाहेजति सबै काम गर्न नसकिने अवस्था रहेपनि सकिने जति काम गर्न नगरपालिका लागिरहेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘नगरको विकासका लागि सकारात्मक ढंगले जे जति सुझाब आएका छन्, हामी कार्यान्वयन गर्न प्रतिबद्व रहनेछौं ।’
जनताबाट आएका सुझाबलाई कार्यान्वयन गर्ने ठाउँमा नै आफुहरु रहेको भन्दै नगरप्रमुख भट्टराईले पूर्वाधार निर्माण, कृषि, स्वास्थ्य तथा शिक्षा लगायत सबै क्षेत्रलाई उत्तिकै प्राथमिकता दिइने बताउनुभयो ।
उहाँले सकारात्मक चिन्तन सहितको सुझाबले नगरलाई सम्मुनत बनाउन सघाउ पुग्ने भन्दै यस्तै सुझाबहरुको अपेक्षा गरेको बताउनुभयो । सबै मिलेर नै नगरपालिकाको विकास गर्न सकिने नगरप्रमुख भट्टराईको भनाई छ ।
उहाँले स्थानीय सरकारलाई परिपक्क र बलियो बनाउदै लैजाने, राजस्व संकलन र वित्तीय क्षमता, बजेट कम हुदै गएको बजेटको आभार घट्दो क्रममा रहेकाले सीमित साधान र स्रोतको परिचालन गरेर विकास निर्माण अभियानमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपाने तिमिल्सीनाले गुणात्मक उपस्थिति र सुझाब आएको भन्दै जनताका सुझाब कार्यान्वयन गर्न सकेसम्म धेरै पहल गर्ने बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले संघबाट प्रत्येक वर्ष बजेट घटिरहेको जानकारी दिदै स्थानीय सरकारहरु क्रमशः आत्मनिर्भर बन्नुपर्ने अवस्था आउने बताउनुभयो ।
उहाँले बेरुजुमा उल्लेख्य कमी गर्न सकेकोमा केन्द्र सरकारबाट केही बजेट थपिए पनि समग्रमा बजेट घटेको जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला समिति स्याङ्जाका पूर्व सभापति लालगोपाल अर्याल,नेपाली काँग्रेस गल्याङ नगर उपसभापति भेक प्रसाद श्रेष्ठ, नेकपा एमाले गल्याङ नगर कमिटी अध्यक्ष दानबहादुर थापा, नेकपा माओवादी केन्द्रका गल्याङ नगर कमिटी अध्यक्ष चित्रबहादुर राना, राष्ट्रिय स्वतन्त्र पार्टीका गल्याङ नगर कमिटीका सभापति टिकाराम भण्डारी, राप्रपाका प्रतिनिधि धर्मराज न्यौपाने, समाजबादीका पार्टी प्रतिनिधि हरि मोहन भण्डारी सहित गल्याङ नगरपालिकाका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले सुझाब दिनु भएको थियो ।
कार्यक्रममा कच्चीबाटोको स्तरउन्नती, खानेपानीको व्यवस्थापन, शिक्षामा सुधार, स्वास्थ्य क्षेत्रमा अझै स्वास्थ्यकर्मी बढाउनुपर्ने, कुनै एक विद्यालयमा पत्रकारिता तथा आमसञ्चार विषयको अध्ययनको व्यवस्था गर्नुपर्ने, कृषि तथा पशु क्षेत्रमा भैरहेको अनुदानको अनुगमन गर्नुपर्ने लगायतका सुझाबहरु बक्ताहरुले दिनु भएको थियो ।







प्रतिकृया दिनुहोस