गल्याङद्वारा अनुदानमा कृषि उपकरण वितरण
गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरुका लागि कृषि उपकरण वितरण गरेको छ ।
गल्याङ नगरपालिका ३, गल्याङबजारमा रहेको नगर सभाहलमा शनिबार एक कार्यक्रमको आयोजना गरी कृषि उपकरण वितरण गरिएको हो ।
कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले सम्बृद्धिको आधार कृषि नै रहेको भन्दै कृषि सामाग्री निर्यात गर्ने उद्देश्यले कृषि उपकरण वितरणको कार्यक्रम राखिएको बताउनुभयो ।
उहाँले कृषि र पशु व्यवसायलाई प्रबर्दन गर्ने, क्षमता बृद्धि गर्ने र निर्यात गर्ने उद्देश्य राखेर कृषिलाई उच्च प्राथमिकतामा राखिएको स्पष्ट पार्नुभयो ।
अन्य क्षेत्रको बजेट कटौती गरेर कृषि उपकरण वितरण गरिएको भन्दै नगरप्रमुख भट्टराईले यसको अधिकतम उपयोग गर्न कृषकहरुलाई आग्रह गर्नुभयो ।
कृषि क्षेत्रको विकासका लागि हेफर प्रोजेक्ट पनि सञ्चालन भैरहेको जानकारी दिदै उहाँले नगरपालिकाले कृषि क्षेत्रलाई धेरै प्राथमिकता दिएको बताउनुभयो ।
उहाँले सरकारी कोषबाट आएको रकमको झनै बढि सदुपयोग र माया गर्नुपर्नेमा जोड दिनुभयो ।
नगरप्रमुख भट्टराईले विपन्न महिलाका लागि बाख्रा वितरण कार्यक्रम, पकेट क्षेत्रका कार्यक्रम, सुन्तला उत्पादन बढाउन विशेष कार्यक्रम, दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदानको व्यवस्था लगायतका धेरै कार्यक्रम ल्याएपनि कृषिमा सोचेजस्तो प्रगति हुन नसकेको बताउनुभयो ।
कृषकहरुमा चाहिए जति उर्जा नहुने, बाँदरको समस्या र कृषकहरुमा अनुदानको सदुपयोगमा केही समस्या भएका कारण कृषि क्षेत्रमा प्रगति हुन नसकेको उहाँका भनाई छ ।
उहाँले सधैं अनुदान नहुने भन्दै केही समय प्रोत्साहनका लागि मात्रै यस्ता कार्यक्रम ल्याइएको स्पष्ट पार्नुभयो ।
अनुदानका लागि मात्रै कृषि गर्नेहरु पनि देखिएको भन्दै नगरप्रमुख भट्टराईले कृषक आत्मनिर्भर बन्ने बाटोमा जानुपर्नेमा जोड दिनुभयो ।
गल्याङ नगरपालिकाले सञ्चालन गरेको कृषकसँग कृषि प्राविधिक कार्यक्रम निकै प्रभावकारी भएको र यसबाट अरु २९ वटा पालिकाले यसको सिको गरेको उहाँले जानकारी दिनुभयो । यो कार्यक्रमबाट वास्तविक र साना किसानका लागि निकै फाइदा पुगेको नगरप्रमुख भट्टराईले बताउनुभयो ।
उहाँले कसैले अनुदान पाइरहने र कसैले कहिल्यै नपाउने अवस्थाको अन्त्य गरिएको भन्दै अब एउटै प्रकृतिको अनुदान कसैले पनि दोहो¥याएर नपाउने बताउनुभयो ।
कार्यक्रममा गल्याङ नगर उपप्रमुख हेमा न्यौपाने तिमिल्सीनाले प्राप्त अनुदानलाई सही सदुपयोग गर्न आग्रह गर्नुभयो ।
उहाँले वितरण गरिएका सामाग्रीहरुको प्रभावकारिता अनुगमन गरिने भन्दै आवश्यकताका आधारमा फेरि पनि अनुदानका कार्यक्रमहरु ल्याइने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा ५० वटा कम्माइन मिल, ३३ वटा हाते ट्याक्टर, १४ वटा च्याफ कटर र ६ वटा ब्रस कटर वितरण गरिएको छ । गल्याङ नगरपालिकाले कृषि उपकरणमा एकैपटक यति धेरै कृषि उपकरण वितरण गरेको सम्भवतः यो पहिलोपटक हो ।







प्रतिकृया दिनुहोस