शूल्क बृद्धि विरुद्धको आन्दोलन चर्किदै
गल्याङ । बुटवल पावर कम्पनी आँधिखोला वितरण केन्द्रबाट वितरित विद्युत महसुलमा भारी बृद्धि भएपछि आन्दोलन चर्किन थालेको छ ।
बुटवल पावर कम्पनीको सिफारिसमा विद्युत नियमन आयोगले विद्युत महसुल बढाएकोमा प्रभावित क्षेत्रका राजनीतिक दलहरु तथा सरोकारवाला पक्ष एकजुट भएर आन्दोलन गर्ने निर्णय गरेका छन् ।
यसअघिको मुल्यमा झण्डै ५० प्रतिशत बढाइएपछि छलफल गर्न आँधिखोला वितरण केन्द्रबाट प्रभावित छ वटा पालिकाका राजनीतिक दलहरुबीच गल्याङबजारमा छलफल भएको छ ।
नेपाली काङग्रेस गल्याङ नगर समिति सभापति श्यामप्रसाद बस्यालको अध्यक्षतामा बसेको बैठकले शूल्क बृद्धिको निर्णय तत्काल फिर्ता गर्न माग गर्दै आ–आफ्नो पालिकामा संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको हो ।
बैठकले मुल्य बृद्धि फिर्ता लिन माग गर्दै बुटवल पावर कम्पनीका आफ्नो पालिका रहेका कार्यालयमा ज्ञापनपत्र बुझाउने तथा विद्युत नियमन आयोगमा निर्णय फिर्ता लिन माग गर्दै उजुरी दिने निर्णय पनि गरेको छ ।
यस्तै भेलाले बुटवल पावर कम्पनीलाई मिटर रिडिङ गर्न नदिने निर्णय पनि गरेको छ ।
यसैगरी भेलाले शुल्क बृद्धिको निर्णयप्रति गम्भीर भई फिर्ताका लागि पहलकदमी लिन सांसद तथा पालिकाका प्रमुख एवम अध्यक्षहरुलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।
यस्तै, पार्टीका जिल्ला नेतृत्वलाई पनि बढाइएको शूल्क खारेजीका लागि आवश्यक निर्णय गर्न आह्वान गर्ने निर्णय भेलाले गरेको छ ।
भेलामा सहभागीहरुले विद्युत नियमन आयोगले पदाधीकारी विहीन हुने बेलामा गरेको निर्णय आर्थिक चलखेलका आधारमा हुन सक्ने शंका व्यक्त गरेका छन् ।
कतिपय सहभागीहरुले भने केही पालिका प्रमुखहरु पनि मौन रहनुलाई आर्थिक चलखेलमा जोडिएको हुन सक्ने शंका व्यक्त गर्दै जनताका मुद्धामा एकीकृत हुन नसकेको भन्दै चिन्ता प्रकट गरेका छन् ।
भेलामा नेपाली काङ्ग्रेस वालिङ नगर समिति सभापति नेत्रप्रसाद पाण्डे, भिरकोट नगर समिति उपसभापति जगदिश कोइराला, रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराई, रम्भाका प्रतिनिधि सुमन पछाई, नेकपा एमाले गल्याङ नगर कमिटि अध्यक्ष दानबहादुर थापा, वालिङ नगर कमिटि अध्यक्ष शोभाकान्त पौडेल, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सदस्य अर्जुन श्रेष्ठ, वालिङका सचिव भक्त गोतामे, रम्भा गाउँकमिटि अध्यक्ष विनोद अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टी गल्याङ नगर समिति सभापति टिकाराम भण्डारी, वालिङ नगर सभापति सुरेन्द्र काफ्ले, रामपुर नगर सभापति अर्जुन प्रसाद श्रेष्ठ, नेकपा समाजवादी केन्द्रीय परिषद सदस्य जगदिश गैह्रे, राष्ट्रिय जनमोर्चा स्याङ्जाका अध्यक्ष राजेन्द्र गैह्रे, पत्रकार महासंघ स्याङ्जाका सभापति श्रीकृष्ण सिग्देल लगायतको उपस्थिति रहेको थियो ।
यसैवीच, गल्याङको संघर्ष समितिले सोमबार बुटवल पावर कम्पनीको गल्याङ शाखामा गल्याङ चेम्बर अफ कमर्सको आयोजनामा हुने धर्ना कार्यक्रममा सहभागी हुने निर्णय गरेको छ ।
सोही धर्नामा थप कार्यक्रम तय हुने नेपाली काङग्रेसका नगर सभापति श्यामप्रसाद बस्यालले जानकारी दिनुभयो ।
चरणबद्ध आन्दोलन सुरु गरेको चेम्बर अफ कमर्सले सोमबार मध्यान्ह १२ बजे बुटवल पावर कम्पनीको गल्याङ शाखामा धर्ना दिने कार्यक्रम राखेको छ ।






प्रतिकृया दिनुहोस